किन हुन्छ बेलाबेलामा रक्तस्राव ?

खबर खुराक
१७ भदौ २०८०

काठमाडौं । महिनावारी रक्तस्राव हुनु त सामान्य नै हो । तर बेलाबेलामा थोरै मात्रामा रक्तस्राव भइरहन्छ भने त्यो सामान्य नहुने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कुमकुम झा बताउँछिन् । पाठेघरको समस्या, थाइराइड, शरीरमा हार्मोनको गडबडी, परिवारको नियोजनको औषधि प्रयोगमा गडबडी र रगतसम्बन्धी रोगका कारण रक्तस्राव हुन सक्छ ।

‘यस्तो थोरै थोरै रक्तस्राव नियमित भएमा स्त्रीरोग विशेषज्ञलाई जाँच गराउनुपर्छ । किनकि यसले समयमा जाँच गरेर उपचार गर्दा पाठेघरको क्यान्सर हुन सक्ने जोखिम हुन्छ,’ डा. झा भन्छिन् ।

यस्तो समस्या बाहिर हेरेर थाहा नहुने भएकाले बेवास्ता गर्ने नहुने र महिलाहरुले वर्षको एकचोटि पाठेघरको जाँच गराउनुपर्छ । समयमै उपचार गरेमा अनियिमित महिनावारीको समस्या ठीक भएर रक्तस्रावको समस्या पनि समाधान हुने डा. झा बताउँछिन् ।

बेलाबेलामा रक्तस्राव हुने देखिए पनि यो सबैको लागि समस्या नहुने अर्का प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह बताउँछन् । ‘कसैको लागि सामान्य पनि हुन सक्छ । किनकि कहिलेकाहीं मिक्स साइक्लिङ स्पोटिङ अर्थात् मध्य–चक्र स्पटिङ पनि हुने गर्छ । यो महिनावारी हुनु लगभग १४–१५ दिनको बीचमा यौनाङ्गबाट रगतको केही थोपा देखिने गर्छ,’ डा. साह भन्छन्, ‘तर यो महिनावारी भएको होइन । त्यसैले कसैकसैलाई यसैलाई महिनावारी भएको भन्ठान्छन् । प्राय: थोरै थोरै रक्तश्राव महिनावारीको सुरुवाती र सुक्ने वर्षमा हुन सक्छ ।’

तर यस्तो समस्याको उपचारै गर्नु पर्दैन भन्ने नभएको उनी बताउँछन् । यदि रक्तश्रावका कारण असहज महसुस हुने खण्डमा सम्बन्धित विशेषज्ञलाई देखाइहाल्न उनी सुझाउँछन् । ‘कसैलाई सामान्य लागेको कसैलाई जटिल समस्याको संकेत पनि हुन सक्छ । यसरी रक्तश्राप हुनुको मतलब पाठेघरको क्यान्सर पनि भएको हुन सक्छ,’ डा. साह भन्छन् ।

यस्तो बेला शारीरिक सम्बन्ध राख्दा गर्भ रहन्छ ?

महिनावारी हुनु १४–१५ दिनअघि एक-दुई थोपा रगत देखिएको खण्डमा शारीरिक सम्बन्ध राख्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । तर महिनावारी भएको अवस्थामा भने गर्भ नरहने डा. साह बताउँछन् ।

उपचार

रक्तस्रावको उपचार बिरामीको उमेर र समस्या अनुसार फरक हुने डा. साह बताउँछन् । कुनै बेला हार्मोन थेरापी गर्दा पनि समस्या ठीक हुन्छ । मासिक श्राव गडबडी हुनु कसैलाई सामान्य हुन सक्छ भने कसैलाई जटिल रोगको संकेत पनि हुन सक्ने डा. साह बताउँछन् ।

उनी भन्छन्, ‘पाठेघरको जाँच, हार्मोन, थाइराइड, अल्ट्रा साउण्ड गरेर समस्याअनुसार उपचार गर्न सकिन्छ ।’