हृदयाघात कसरी हुन्छ? हृदयघात भइसकेपछि तत्काल के गर्ने, के नगर्ने ?

खबर खुराक
२८ भदौ २०८०

अहिलेको युवा अवस्थामा नै मुटुरोगको समस्या बढ्दै गएको छ। मुटुले सबै अंगहरुमा रगत सप्लाई गर्छ। त्यो रगतमार्फत खानेकुरा, अक्सिजन तथा शरीरलाई आवश्यक पर्ने सबै तत्वहरु शरीरभरि पुग्छ। जन्मेदेखि मृत्युसम्म काम गरिरहने अंग नै मुटु हो।  मुटु आफैंलाई पनि चाहिने रगतको तीन वटा नसा हुन्छन्। जुन नसा छातीको देबे्र भागमा दुई वटा र दाहिने भागमा एउटा हुन्छ। ती तीन वटा नसामध्ये कुनै एउटा नसा बन्द भयो भने हृदयाघात हुन्छ।

पहिला–पहिला युवामाभन्दा पनि पुरुषमा ४० वर्षमाथि र महिलामा ५० वर्षमाथि उमेर भएका व्यक्तिमा यो समस्या बढी हुने गरेको थियो। तर अहिले ३० वर्षभन्दा कम उमेरका युवामा नै हृदयाघातको समस्या बढेको देखिन्छ। ३०–३५ वर्ष उमेरका युवाहरुमा हृदयाघात भएका धेरै केस छन्।

हृदयघात भएमा प्राथमिक उपचार के गर्ने ?

हृदयघात भएमा पहिलो उपचार भनेको बिरामीलाई सकेसम्म चाँडै अस्पताल पुर्‍याउनु हो । अर्को भनेको एस्प्रिन ३०० एमजी भन्ने औषधि खान सकिन्छ । यो औषधि दीर्घरोग भएकाहरुले बोकेर हिंड्नु उचित हुन्छ । किनकि हृदयघातलगत्तै यो औषधि खुवाउन सकेमा बिरामी राहत मिल्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल पुर्‍याएर ईसीजी गराइहाल्नुपर्छ ।

हृदयघात भएको व्यक्तिलाई कस्तो ठाउँमा राख्नेकेके गर्ने ?

हृदयघात भएको व्यक्तिलाई पहिलो होहल्ला नहुने ठाउँमा लगेर राख्नुपर्छ । त्यस्तै यदि बिरामी घरमै छ भने हावा आउने कोठामा बिरामीलाई सिधा पारेर सुताउन सकिन्छ । साथै शरीरमा टाइट लुगाकपडा लगाएको भए फुकालिदिनुपर्छ । त्यस्तै बिरामीलाई आराम गराउनुपर्छ ।

हृदयघात हुँदा के गर्नै हुँदैन ?

हृदयघात भएको अवस्थामा बिरामीलाई हिंड्न र कुद्न लगाउनु हुँदैन । बिरामीलाई गाडीसम्म छिटोछिटो हिडौं भनेर दौडाउनु हुँदैन । बिरामी र बिरामीसँगै भएको व्यक्ति आत्तिनु हुँदैन । यस्तो गरेमा बिरामीको मुटुको चाल गडबडी भई घटनास्थलमै मृत्यु हुने जोखिम उच्च हुन्छ ।

हृदयघात भइहालेमा कुनै औषधि खुवाउन मिल्छ ?

हृदयघात हुने लक्षण देखा परेमा एस्प्रिन भन्ने औषधि चपाएर खान सकिन्छ । अन्य औषधि खुवाउन मिल्दैन । तर बिरामी बेहोस छ भने कुनै पनि खुवाउन मिल्दैन ।

हृदयघात हुने कारण

प्रायजसो लामो समयसम्म उच्च रक्तचाप, मधुमेहको सुगर लेबल नियन्त्रण नभएमा, मधुमेहको औषधि छुटाएका बिरामी, शरीरमा खराब कोलेस्टेरोल बढेमा (एलएडी), शारीरिक व्यायामको कमी, असन्तुलित खानपान, जंकफुड धेरै सेवन, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिमा हृदयघात हुने जोखिम बढी हुन्छ । परिवारमा कसैलाई हृदयघात भएको छ भने अरुलाई पनि हृदयघातको जोखिम हुन सक्छ ।

यस्ता बिरामीले समय-समयमा ब्लड प्रेसर, मधुमेहको उपचार गराइराख्नुपर्छ । जसले हृदयघात हुनुबाट जोगाउन मद्दत गर्छ ।

हृदयघात कस्तो व्यक्तिलाई हुन सक्छ ?

प्रायजसो दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाले व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ ।

हृदयघात हुँदा केके जटिलता हुन्छ ?

हृदयघात हुँदा मुटुमा रगत जाने रक्तनली बन्द भएर मुटु फुट्न सक्ने सम्भावना हुन्छ । समयमा उपचार नभए बिरामीको मृत्युसमेत हुन सक्छ ।