मुक्ति समाज पाल्पाको विस्तारित बैठक सम्पन्न

खबर खुराक
१० असोज २०८०

पाल्पा, १० भदौ । नेपाल उत्पीडित जातीय मुक्ति समाज पाल्पाको विस्तारित बैठक बुधबार तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा मुक्ति समाजका इन्चार्ज भागवत विश्वासीले पार्टीलाई खोज्ने होइन, पार्टीले खोज्ने गरी मुक्ति समाजका नेता तथा कार्यकर्ताले आफूलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

आफूहरूले जातपात छुवाछूत अन्त्य गर्न चाहेको उनले बताए। ´हामी पदको लागि राजनीति गरेको होईन । अध्यक्ष, संसद, मन्त्री बन्न चाहन्नौ` उहाँले भन्नुभयो समाजमा जरा गाडेर बसेको जातीय छुवाछूत अन्त्य गर्न चाहन्छौं ।`

यो वा त्यो बहानामा जातीयताकै आधार दलित समुदाय नागरिकको हत्या भइरहेको छ । दलित समुदायको वेदना फरक छ । हजारौं वर्षदेखि अपहेलित यो समुदायका नागरिकले मान्छे भएर बाँच्न सकिरहेका छैनन् । समाजमा रहेको यस्तो व्यवस्था भत्काउन मुक्ति समाजले नेतृत्व गर्ने विश्वासीले बताउनुभयो ।

मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज नन्द विश्वकर्माले दलित समुदायको मुक्तिका लागि मुक्ति समाजको विकल्प नभएको दाबी गर्नुभयो । यस संगठनलाई बलियो बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । सदस्यता विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले
उत्पीडित समुदायको मुक्ति एमालेबाट संभव रहेको बताउनुभयो। दलित समुदाय एमालेको भोट बैंक मात्रै होइन । सदस्य मात्रै होइन । नेतृत्वदायी भूमिका दिन सदैव एमाले पार्टी तयार रहेको उहाँले बताउनुभयो । वडा सदस्य मात्र नभइ पालिका अध्यक्ष, प्रत्यक्ष संसद बन्ने योजनाका साथ अगाडि बढ्न मुक्ति समाजका नेता तथा कार्यकर्तालाई पोखरेलले आग्रह गर्नुभयो ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेश इन्द्रा गहतराज अझै पनि समाजमा जातीय विभेद कम नभएको बताउनुभयो । दलित मैत्री प्रदेश बनाउनुपर्छ । अब सडकभन्दा पनि सदनमा आन्दोलन गर्ने बेला आएको उहाँले बताउनुभयो ।

मुक्ति समाज पाल्पाका संस्थापक अध्यक्ष सूर्य प्रकास दर्नालले जातीय विभेद विरुद्ध बोल्न आव्हान गर्नुभयो ।
मुक्ति समाज स्थायी कमिटी सदस्य ठाकुरप्रसाद लोहागुनले बैठकको प्रस्तावमाथि प्रकाश पार्दै निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । पाल्पाका १० वटै स्थानीय तहमा असोज महिनाभित्र मुक्ति समाजको भेला, बैठक गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न रिक्त पदमा मनोनीत गरिएको छ । मुक्ति समाज पाल्पाको उपाध्यक्षमा नारायणी गहतराज, लक्ष्मण सुनार, कोषाध्यक्षमा केशव बराल, उपसचिव सन्तोष पृथी र
अमर विकलाई मनोनीत गरिएको हो ।

मुक्ति समाज लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कृष्ण विश्वकर्मा संगठनलाई आम जनतासँग जोड्नका लागि तीन महिने अभियान थालिएको बताउनुभयो । अब मुक्ति समाज टोलटोल र घरघरमा पुग्ने छ । जातीय विभेदको अवस्था बुझेर यसको न्यूनीकरणका लागि योजना बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
आगामी मंसिर मसान्तसम्म संचालन हुने अभियानमा जिल्लादेखि टोल भेला गर्ने, सदस्यता थप गर्ने, नवीकरण गर्ने बताउनुभयो ।

मुक्ति समाजका फाँट इन्चार्ज भोजबहादुर बिकले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला इन्चार्ज योगेन्द्र गैरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मुक्ति समाज पाल्पाका अध्यक्ष विनोद बुढापृथीको अध्यक्षतामा भएको बैठकमा सचिव अनिल समर खातीले संचालन गर्नुभएको थियो ।