मुक्ति समाजको ३६औं स्थापना दिवस पाल्पामा पनि मनाइयो

खबर खुराक
४ पुष २०८०

पाल्पा, ३ पुस । नेपाल उत्पीडित जातीय मुक्ति समाज पाल्पाले ३६औं केन्द्रीय स्थापना दिवस विविध कार्यक्रम गरी तानसेनमा मनाएको छ ।

समाजले पाल्पा अस्पतालमा भर्ना भएर उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ । साथै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जातीय विभेद अन्त्य गर्न र समाज रुपान्तरणमा मुक्ति समाजको भूमिकाबारे छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेले नेपाली समाज रुपान्तरणको लागि दलित समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । आर्थिक, सामाजिक रुपान्तरणमा  मुक्ति समाजको उद्देश्य पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । समाजमा सबै मानिसलाई मानवीय व्यवहार हुनुपर्छ । सबैलाई सम्मान र समान व्यवहार गर्नुपर्छ भन्ने एमालेको नीति रहेको र कार्यान्वयनमा एमालेले नै नेतृत्व लिने गैरेले बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य सिर्जना काफ्लेले मुलुकमा कुनै जाति हुँदैन भन्ने पार्टी एमाले हो । जातीयताको आधारमा हुने विभेद अन्त्यका लागि एमालेले नेतृत्व लिएर अगाडि बढ्ने उहाँले बताउनुभयो । विभेद अन्त्यका लागि गैरदलित समुदायको मुख्य भूमिका हुने बताउनुभयो ।

एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले सबै जाति, धर्म, संस्कृती, लिंग, वर्ग र समाजमा पछाडि परेकाहरूको हितमा काम गर्ने पार्टी एमाले भएको बताउनुभयो । एक्काइसौं शताब्दीमा छुवाछूतका घटना सुन्दा आफूहरूको शिर निहुरिने उनले बताए। यसको अन्त्य एमालेले गर्ने छ । राजनीतिक लडाइँ सकिएपनि आर्थिक सामाजिक र सांस्कृतिक लडाइँ जारी छ । मान्छे मान्छे बीच हुने विभेद, शोषण र दमनका विरुद्ध एमाले लडिरहने उहाँले बताउनुभयो ।

मुक्ति समाज स्थायी कमिटी सदस्य ठाकुर प्रसाद लोहागुनले मुलुक परिवर्तनमा मुक्ति समाज र दलित समुदायको महत्त्वपूर्ण भूमिका रहेको दाबी गर्नुभयो ।

संविधान सभा सदस्य नारायणी घिमिरेले मुलुकमा बनेका कानून प्रभाकारी कार्यान्वयन भए समाजमा रहेको विभेद न्यूनीकरण हुने बताउनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्माले समाजमा जरा गाडेको जातीय विभेद अन्त्यका लागि दलित र गैह्र दलित समुदायका सचेत वर्गले नेतृत्व लिएर विभेद विरुद्ध  गतिविधि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मुक्ति समाज केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज योगेन्द्र गैरेले संविधानमा विभेद भएपनि व्यवहारमा नहटेको बताउनुभयो ।

एमाले जिल्ला सचिवालय सदस्य तथा मुक्ति समाजका फाँट इन्चार्ज  भोजबहादुर बिकले जातीय विभेद अन्त्यका लागि संगठन अझै सशक्त भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

मुक्ति समाज पाल्पाका संस्थापक अध्यक्ष सूर्य प्रकाश दर्नाल मान्छे मान्छेबीच हुने छोइछिटो अन्त्य गर्ने अभिभारा मुक्ति समाजको काँधमा रहेको बताउनुभयो ।

मुक्ती समाज पाल्पाका अध्यक्ष विनोद बुढापृथीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायणी गहतराजले स्वागत र सचिव अनिल समर खातीले संचालन गर्नुभएको थियो ।