आज ७४औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

खबर संसार
७ फागुन २०८० १०:३६

७ फागुन, काठमाडौं । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै छ ।

नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको हो ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास हुंदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा प्राणको दिनुभएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।



प्रतिक्रिया