तानसेनमा ‘तानसेन महोत्सव’ हुने

खबर संसार
७ फागुन २०८० १८:०३

मिलन विश्वकर्मा

पाल्पा, ७ फागुन । तानसेन नगरपालिकाले ‘तानसेन महोत्सव’ आयोजना गर्ने भएको छ।

कृषि, रोजगार, पर्यटन, उद्योग  व्यापार तानसेन महोत्सव–२०८० आयोजना गर्न लागिएको हो ।

नगरपालिकाले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो । यही फागुन १९ देखि २९ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा महोत्सव सञ्चालन हुनेछ ।

यस्तै पाल्पाली ढाका, करुवा, कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटो मोवाइल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका स्टल रहने नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । विभिन्न उपसमिति गठन गरेर महोत्सवको तयारी थालिएको छ ।

महोत्सवमा तीन लाख बढी दर्शकले अवलोकन गर्ने दाबी गरिएको छ । १० करोड कारोबार हुने अनुमान गरिएको छ । ६१ लाख बढी राजश्व बचत हुने उहाँले बताउनुभयो । उक्त रकम तानसेन नगरीको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यमा खर्च गरिने छ ।

महोत्वस स्थलमा प्रवेश गर्नमा लागि ७० रुपैयाँ साधारण टिकट दर कायम गरिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्कीले बताउनुभयो ।

हामी सबैको उत्सव, हाम्रो महोत्सव भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवलाई सफल बनाउन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सबैसँग आग्रह गर्नुभयो ।

पर्यटन र कृषिको माध्यमबाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । स्थानीय भाषा, कला, संस्कृति, धार्मिक मुल्य र मान्यतको संरक्षण तथा स्थानीय प्रविधिलाई प्रोत्साहन र बाह्य प्रविधिको पहिचान गर्न महोत्सवको उद्देश्य रहेको श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सव सञ्चालन गर्न ठेक्का दिइएको छ ।

राजधानी राइड्स नेपाल कम्पनीले यसको जिम्मेवारी पाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । टुँडिखेल मैदानलाई प्रयोजनमा ल्याएर आन्तरिक राजश्व वृद्धि गर्ने योजनाका साथ महोत्सव सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो । ६१ लाख ४७ हजार ठेकेदार कम्पनीले नगरपालिकालाई बुझाइसकेको छ । विभिन्न प्रायोजक संस्थाले दिने रकम समेत नगरपालिकाले नै लिने ज्ञवालीले बताउनुभयो ।

यसअघिका वर्षहरूमा पाल्पा उद्योग वाणिज्य संघले टुँडिखेल मैदानमा पाल्पा महोत्सव सञ्चालन गर्दै आएको थियो ।



प्रतिक्रिया