कानुनको अधिनमा रहेर काम गर्नेछु : एसपी चन्द

खबर संसार
८ फागुन २०८० २०:१६

मिलन विश्वकर्मा
पाल्पा, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले ठूलबडाको अधिनमा रहेर काम नगर्ने बताउनुभएको छ ।

केही दिन अघि मात्र उहाँ पाल्पा सरुवा भएर आउनुभएको हो । मंगलबार यहाँका पत्रकारसँगको परिचयात्मक कार्यक्रम उहाँले भन्नुभयो ‘कानुनको अधिनमा रहनेछु । कानुनलाई टेकेर काम गर्नेछु । कसैको प्रभाव र दबाबमा पर्ने छैन ।’ आफूले नागरिक र पीडितमैत्री भएर काम गर्ने उहाँले बताउनुभयो ।

प्रहरी संगठन कानुन कार्यान्वयन गर्ने निकाय हो । नागरिकको सुरक्षामा प्रहरीले काम गर्छ । प्रहरीका गतिविधिमा सहयोग गर्न यहाँका नागरिकसँग अपिल गर्नुभयो । सबै पक्षको सहकार्यमा समाजमा सुरक्षा व्यवस्था मजबुत बनाउन सकिने चन्द बताउनुहुन्छ ।

सूचनाको स्रोत नागरिक नै हुन् । अझै बढी पत्रकारसँग सूचना हुन्छन्। समयमा सूचना दिन र आवश्यक प्रमाण जुटाउने काममा प्रहरीलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । कानुन विपरित काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन सके समाजमा शान्ति सुरक्षा कायम हुने उहाँले दाबी गर्नुभयो ।

यसअघि काठमाण्डौको साइबर ब्यूरोमा काम गरेका चन्दले सामाजिक सञ्जालबाट हुने अपराधिक घटनालाई न्यूनीकरण गर्न विशेष पहल गर्ने बताउनुभयो । समाजमा अधिकांश अपराधिक घटना सामाजिक सञ्जालको दुरूपयोगका कारण घटेका छन् । जबरजस्ती करणी, आत्महत्या, हत्या, लुटपाट, ठगी, चोरी, डकैतीजस्ता घटना न्यूनीकरण गर्न सामाजिक सञ्जाल प्रयोेगबारे आम नागरिक सचेत हुन आवश्यक छ । यससम्बन्धी विशेष योजना बनाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको एसपी चन्दले बताउनुभयो ।

आफू अन्यायमा परेको महसुस भए कसैको दबाब र प्रभावमा नपरी प्रहरी समक्ष आउन उहाँले अनुरोध गर्नुभयो ।



प्रतिक्रिया