संवैधानिक राज संस्थाको मागसहित राप्रपा पाल्पाले बुझायो ज्ञापन पत्र

खबर संसार
९ फागुन २०८० १५:००

पाल्पा, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले अभिभावकीय भूमिकामा संवैधानिक राज संस्था हुनुपर्नेसहित ४० बुँदे ज्ञापन पत्र बुझाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रदेश खारेज हुनुपर्ने, स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने,
धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु अधिराज्य हुनुपर्ने माग गरेको राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले बताउनुभयो ।

कार्यकारी पदमा एक व्यक्ति दुइ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गर्न, देशभरि निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यको सुनिश्चित गर्नुपर्ने, तत्काल सबै नेपाली नागरिकलाई स्वास्थ्य बीमाको पहुँच पुर्‍याउँदै बीमितलाई इच्छाइएको अस्पतालमा उपचारको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ ।

कृषि कल्याणकोषको निर्माण, साना किसानका लागि सहज र सहुलियत दरमा कृषि कर्जाको व्यवस्था तथा कृषि मल कारखानाको स्थापना र गत ५ वर्षमा कृषि अनुदान कति र ककसलाई दिइयो भन्नेबारे स्वेतपत्र प्रकाशन र छानबिन गर्नुपर्ने माग गरि ज्ञापन पत्र बुझाएको कुँवरले बताउनुभयो ।

सिद्धान्तमा मात्रै नभाइ व्यबहारमै पिछडिएका र पछि पारिएका सबै वर्ग, जाति, लिंग, समुदायको समान अधिकारको सुनिश्चितता गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकहरूका लागि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम आगामी निर्वाचनमा मतदान अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले आफूले सम्बन्धित निकायम तत्काल पठाउने बताउनुभयो ।

 

 

 



प्रतिक्रिया