प्रहरी कल्याणकोष न्यायोचित वितरण गर्न पूर्व प्रहरी संगठन पाल्पाको पनि माग

खबर संसार
२४ फागुन २०८० १५:४९

मिलन विश्वकर्मा

पाल्पा, २४ फागुन । नेपाल पूर्व प्रहरी संगठन पाल्पाले पनि प्रहरी कल्याणकोषको हिसाबकिताब छानबिन गर्न माग गरेको छ ।

संगठन पाल्पाका अध्यक्ष रमेश बोहराको नेतृत्वमा गएको एक टोलीले जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै कल्याणकोषमा भएको अनियमितता बारे छानबिन गर्न माग गरेको हो ।

२०४९ फागुनदेखि २०६९ भदौ सम्मको कल्याणकोषको हिसाबकिताब छानबिन गर्न भनिएको छ । उक्त मितिमा मोतीलाल बोहरा र रवीन्द्र प्रताप शाह कल्याणकोषको संरक्षक रहेका थिए ।

संगठनका पदाधिकारी, स्वतन्त्र चार्टर एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई छानबिन समिति गठन गर्न माग गरिएको जिल्ला अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

कल्याणकोषको रकमबाट कल्याणकारी कार्यमा रकम विनियोजन गर्दा मूल धनबाट भएको वा हुने बचतको कम्तीमा व्याजका आधारमा ४० प्रतिशत बहालप्रहरीको लागि खर्च गर्ने, ४० प्रतिशत पूर्व प्रहरीका लागि खर्च गर्ने र २० प्रतिशत आयमूलक कार्यमा खर्च गर्ने नीतिगत निर्णय गरि कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

यस्तै कोष संचालक समितिमा ४० प्रतिशत प्रतिनिधित्व पूर्व प्रहरीबाट हुने व्यवस्था गर्नुपर्ने, कल्याणकारी योजनाका व्यापारीक कामहरू संगठनलाई हस्तान्तरण गर्नुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।
पूर्व प्रहरीको कल्याणमा समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा छुट्टै कार्यालयसहित २ जना पूर्व प्रहरी पदाधिकारी, प्रदेशमा १ /१ जना पदाधिकारी राख्नुपर्ने र उनीहरूलाई पूर्व दर्जाअनुसार सेवा सुविधा दिनुपर्ने माग गरिएको छ।बहालवाला प्रहरी समेत खटाएर पूर्व प्रहरी कल्याणकोष समन्वय शाखा स्थापना गर्न माग गरिएको बोहराले बताउनुभयो ।

प्रहरीका अमर सहिद परिवारका सन्ततिका लागि १० प्रतिशत र प्रहरी परिचरदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक दर्जासम्मका पूर्व प्रहरीका सन्ततिका लागि ५ प्रतिशत नयाँ भर्नामा कोटा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

३५ दिनभित्र माग पूरा नभए प्रहरी कल्याणकोष व्यवस्थापन संचालक समितिको कामकारबाही विरुद्ध देशव्यापी दबाबमूलक आन्दोलन गर्ने संगठले चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझ्दै आफूले तत्काल सम्बन्धित निकायमा पठाउने प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।



प्रतिक्रिया