पाल्पाकी १९ वर्षीया पद्माको हत्याबारे गैरेद्वारा संसदमा जानकारी

खबर संसार
१९ चैत २०८० २१:५१

पाल्पा, १९ चैत । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्याबारे संसदमा जानकारी गराइएको छ ।

पाल्पा क्षेत्र नम्बर दुइका संसद ठाकुर गैरेले उनको हत्या र पीडित परिवारको अवस्थाबारे जानकारी गराउनुभएको हो । मृतक सुनारले कक्षा १२ पढ्दै आएकी थिइन् ।

सोमबार संसदको आकस्मिक समयमा बोल्दै उहाँले भन्नुभयो ´यो घटना अत्यन्तै दुखदायी छ । अहिले सिंगो पाल्पाली शोकमा छ । यस्ता घटनाले समाजलाई अत्यन्तै उछृङ्खल तर्फ अगाडि बढाएको छ । पद्मा हत्याको घटनाले समाजमा निरासा पैदा भएको छ ।`

गरिखाने अत्यन्तै विपन्न परिवार पीडामा छ । त्यो पीडामा रहेको पद्माको परिवारलाई राहत हुने गरी व्यवस्थापन गर्न गैरेले माग गर्नुभयो । यस्ता घटनालाई निरुत्साहित गर्न सबै सरोकारवालाको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

चैत १३ गतेको घटना हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले हत्याको अरोपमा एक जनालाई पक्राउ गरेको छ ।

गएको शनिबार आएको हावाहुरीका कारण तानसेन नगरपालिका-५ कैलाशनगरका २० वर्षीय भुवन  दर्लामीको मृत्यु भएको छ । यो अर्को दु:खद घटना हो । पीडित परिवारलाई राहत र क्षतिपूर्तिको प्रवन्ध गर्न उहाँले माग गर्नुभयो ।

यसैगरी हावाहुरी र असिना पानीले फलफूल र तरकारी बाली नष्ट गरेर १५ करोड बढी क्षति भएको छ । क्षतिको विवरण संकलन गरेर किसानलाई क्षतिपूर्ति स्वरुप राहत उपलब्ध गराउन संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

 



प्रतिक्रिया