रानीमहलको संरक्षण र प्रवर्द्धन गर्न एमाले तानसेनको माग

खबर संसार
१९ चैत २०८० २२:०३

पाल्पा, १९ चैत । नेकपा एमाले तानसेन नगर कमिटीले रानीमहलको पर्यटन संरक्षण र प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

रानीमहलको स्तरोन्नति गरी थप आकर्षण गराउन माग गरेको हो ।
रानीमहल परिसरमा बसेको एमाले नगर कमिटीको बैठकले सात बुँदे घोषणा पत्र समेत जारी गरेको छ । कालीगण्डकी नदीले कटान गरिरहेको अवस्था छ । नदी किनारमा तटबन्ध गर्नुपर्ने माग गरेको छ। रानीमहलको समय समयमा मर्मत गर्नुपर्ने, यहाँ पुगेका पर्यटकलाई दिनभर रानीमहलमै भुल्ने गरी यहाँको विकास गर्नुपर्ने घोषणा पत्रमा भनिएको छ ।

रानीमहलको स्वामित्व तानसेन नगरपालिकाले लिएको छ। नगरपालिकाले कर उठाउने काम गरेको छ । यसरी उठेको करलाई रानीमहलकै विकासमा लगानी गर्न एमालेले माग गरेको छ । यहाँको थप विकासका लागि तीनै तहका सरकारले कार्यक्रम र बजेट उपलब्ध गराउनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

रानीमहल परिसरमा पर्यटक भुल्नका लागि बगैंचा निर्माण गर्नुपर्ने, नियमित सरसफाई गर्नुपर्ने, शौचालय व्यवस्थित र सफा राख्नुपर्ने, रानीहलको पछाडि रहेका ठाउँलाई समेत व्यवस्थित गर्नुपर्ने माग गरिएको छ ।

रानीमहल जाने बाटोमा रहेको बैकुण्ठे झरना थप आकर्षक बनाउनुपर्ने, झरनाभन्दा माथि रहेका पानीका मुललाई झरनामै खस्ने गरी व्यवस्था मिलाउनुपर्ने, पर्यटक बढाउन रक क्लाईम्बिङ निर्माण गर्नुपर्ने घोषणा पत्र मार्फत माग गरिएको छ । बेबारिसे बनेको हात्ती ढुङ्गा र अवलमा रहेको ओडारलाई व्यवस्थित गर्नुपर्ने, कालीगण्डकी नदीमा ड्याम बाँधेर ताल बनाउनुपर्ने बैठकले माग गरेको नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।

तानसेन नगरपालिकालाई ऐतिहासिक र साँस्कृतिक नगरको रुपमा विकास गरिनुपर्छ। तानसेनको पर्यटकीय क्षेत्रहरुको विकास समिती मोडेलमा व्यवस्थापन, संरक्षण र नयाँ पर्यटकीय क्षेत्रको पहिचान गर्नुपर्ने उहाँले बताउनुभयो ।

तानसेन नगर पर्यटकीय संभावना बोकेको ऐतिहासिक पुरानो शहर हो । यहाँको मुख्य आकर्षक भनेकै रानीमहल हो । यहाँको थप विकास गर्नका लागि दबाब दिने उद्देश्यले पार्टीको बैठक रानीमहलमै राखिएको आत्रेयले बताउनुभयो । यहाँको विकासका लागि तीनै तहका सरकारले कार्यक्रम तथा बजेट व्यवस्थापन गर्नुपर्छ ।

जिल्लास्थित सबै राजनीतिक दलहरूले साझा योजना निर्माण गरेर ऐतिहासिक रानीमहललाई पर्यटकीय स्थलको रुपमा थप विकास गर्न उहाँले आग्रह गर्नुुुभयो । आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सके पाल्पा र सिंगो मुलुकको आर्थिक उन्नतिमा थप टेवा पुग्ने अध्यक्ष आत्रेयले दाबी गर्नुुुभयो ।

यस क्षेत्रको विकासका लागि एमालेले विशेष योजना बनाएर तीनै तहका सरकारसँग माग गर्ने उहाँले बताउनुभयो ।



प्रतिक्रिया