एमाले पाल्पाले पनि मदन – आश्रित स्मृति दिवस मनायो

खबर खुराक
३ जेठ २०८१

जेठ ३, पाल्पा । नेकपा एमाले पाल्पाले विविध कार्यक्रम गरी बिहिबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस मनाएको छ ।

तस्वीरमा अबिर सहित माल्यार्पण गरिएको थियो । अध्यक्ष धनेन्द्रराज घिमिरेले उहाँहरूको राजनीतिक जीवनीबारे चर्चा गर्नुभएको थियो ।

स्वर्गीय नेताहरूले प्रतिपादन गरेको सिद्धान्तको अवलम्बन गरेका छौं । जवजको विचारले मुलुकको राजनीति अगाडि बढेको उहाँले बताउनुभयो ।

एमाले पाल्पाको दशौ अधिवेशनलाई भव्य रुपमा सफल बनाउनुपर्ने उहाँले बताउनुभयो ।

मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्नेगरी तयारीमा जुट्न उहाँले जिल्लास्थित नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने प्रयास हुनेछ । मतदान गरेर नेतृत्व चयन गर्ने अवस्था आएपनि पार्टी मजबुत भएर अगाडि बढ्ने दाबी गर्नुभयो ।

जबजलाई सिद्धान्तको रुपमा स्वीकार्ने नेता कार्यकर्ताले पार्टी आन्तरिक प्रतिस्पर्धालाई पनि सहज रुपमा स्वीकार्न सक्नुपर्छ । प्राकृतिक ढंगले नै नेतृत्व चयन हुने घिमिरेले बताउनुभयो । नेताले भन्दा पनि कार्यकर्ताले जसलाई रुचाउँछन् त्यही नेतृत्वमा आउनुपर्ने उहाँले बताउनुभयो ।

सचिव रामजी पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा जिल्लास्थित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ।

भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।