रुपन्देहीमा मोटरसाइकल दुर्घटना परि दुई जनाको मृत्यु

खबर खुराक
१२ जेठ २०८१

बुटवल, १२ जेठ ।  रुपन्देहीमा शुक्रबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

बुटवल भैरहवा ६ लेन सडकखण्डको ड्राइभरटोल र बुटवल मुर्गिया सडकखण्डको जितगढीमा मोटरसाइकल दुर्घटना भएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार  शुक्रबार राति साढे १० बजेतिर तिलोत्तमा ४ ड्राइभरटोलमा  लु ३१ प १६४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तिलोत्तमा ६ का २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ।

मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिएपछी गम्भीर घाइते भएका डुम्रेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं २ स्थित जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ वर्षीय गोबिन्द अर्यालको मृत्यु भएको छ।

प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३ – २००२ प २०३६ नम्वरको मोटरसाइकल पनि राती साढे १० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

मोटरसाइकल पल्टिँदा गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा राती पौने १ बजे उपचारको क्रममा मृत्यृ भएको प्रहरीले जनाएको छ।