१९औं जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस पाल्पामा पनि मनाइयो

खबर खुराक
२१ जेठ २०८१

मिलन विश्वकर्मा
जेठ २१, २०८१

पाल्पा : नेपाल उत्पीडित जातीय मुक्ति समाज पाल्पाको आयोजनामा १९औं जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मुक्ति समाजका स्थायी कमिटी सदस्य ठाकुर लोहागुनले संविधानमा अधिकार उल्लेख भएपनि कार्यान्वयनमा उदासीन देखिएको बताउनुभयो । मान्छे भएर बाँच्न पाउनुपर्छ । मानवीय व्यवहार पाउनुपर्छ । जातीय विभेद गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगरले जातीयता कै आधारमा विभेद गर्न नहुने बताउनुभयो । सबै जातजाति एउटै हुन । कसैले कसैलाई विभेद गर्न पाइँदैन । यदि विभेद भएमा पीडितलाई न्याय दिनका लागि एमालेले साथ दिने उहाँले बताउनुभयो ।

नेकपा एमाले पाल्पाका निवर्तमान अध्यक्ष धनेन्द्रराज घिमिरेले अझैपनि छुवाछूत पूर्णरूपमा नहटेको बताउनुभयो । छुवाछूत मुक्त राष्ट्र घोषणा भयो । तर अझै पनि छुवाछूत छ । यो लज्जाबोध स्थिति भएको बताउनुभयो । वर्ग, जाति, क्षेत्र र लिंगको रुपमा हुने कुनैपनि विभेदलाई अन्त्य गरिनुपर्छ । यसको नेतृत्व एमालेले गर्नुपर्ने घिमिरेले बताउनुभयो । समाजको कलंकका रुपमा जरा गाडेको जातीय विभेदलाई अन्त्यका लागि एमालेले सामाजिक अभियान चलाउनुपर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश कमिटी सदस्य नारायणी शर्मा घिमिरेले  जातीय विभेद कायमै रहेको बताउनुभयो । आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडी पारिएको छ। विभेद न्यूनीकरणका लागि चेतना जगाउनुपर्ने र कानुन कार्यान्वयन गर्न दबाब दिनुपर्ने उहाँले बताउनुभयो ।

मुक्ति समाज पाल्पाका इन्चार्ज योगेन्द्र गैरे, मुक्ति समाज पाल्पा संस्थापक अध्यक्ष सूर्यप्रकाश दर्नाल, एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्लेले सबै नागरिक एक भएको भन्दै विभेद गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभयो । विभेद न्यूनीकरणका लागि एमाले र यसका नेता तथा कार्यकर्ताले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

उपसचिव दीपक विश्वकर्मा, मीना जिसीले कानुनी रुपमा छुवाछूत मुक्त राष्ट्र घोषणा भएको छ । तर कार्यान्वयन नभएको अवस्था छ । समाज, टोलटोलमा र घर घरमा विभेद अन्त्य हुनुपर्छ । यसका लागि सचेत वर्गले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

जिल्ला कमिटीका पूर्व सदस्य तेजबहादुर रसाइलीले यो वा त्यो बहानामा विभेद गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

मुक्ति समाजका अध्यक्ष विनोद बुढापृथीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पाल्पाको दशौ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यला सम्मान गरिएको थियो

उपाध्यक्ष सन्तोष बुढापृथीले स्वागत गर्नुभएको कार्यक्रममा सचिव अनिल खातीले संचालन गर्नुभएको थियो ।