काँकडभिट्टाबाट १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात

खबर खुराक
२१ वैशाख २०८०

२१ वैशाख ,झापा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ। धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो।

गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार १०३ मेट्रिक टन बन्दाकोभी भारत निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए। काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उनले बताए।

चालू आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट रु १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक लाख ५६ हजार नौ सय ९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरले जानकारी दिए। यो अवधिमा काँकडभिट्टा नाका भएर रु ९ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषिउपज आयात भएको छ।

यहाँबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा अलैँची, चिया, प्लाई उड र अदुवा रहेको रहेको कार्यालयले जनाएको छ। सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ।