सेयर बजारमा उत्साह, नेप्से ५१ अंकले वृद्धि हुँदा कारोबार रकम दुई अर्ब माथि
९ जेठ, काठमाडौं । घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार नेपाल बैंकर्स संघले पत्रकार सम्मेलन गर्दै तरलता थप सहज हुने र ब्याजदर उल्लेख्य रुपमा घट्ने देखिएको बताएपछि मंगलबार सेयर बजारमा हरियाली छाएको छ । गत साताको सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएर बन्द भएको नेप्से त्यसयता लगातार ६ कारोबार दिनसम्म बढेको छ ।
गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताको न्यून विन्दु १८०७.५३ सम्म झरेर १८१८.३१ अंकमा बन्द भएको थियो । त्यसपछिको ६ कारोबार दिन नेप्से लगातार बढ्दा नेप्से समग्रमा १२४.३२ अंकले वृद्धिभएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ५१.३१ अंकले वृद्धि हुँदा १९४२.६३ अंकको विन्दुमा बन्द भएको छ । सेयर बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि २.७१ प्रतिशतले वृद्धि भएको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.०५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ४.०३ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार नेप्सेमा ३८ हजार ७९६ वटा कारोबारमा ६० लाख ६७ हजार ४३२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब २० करोडको कारोबार भएको छ । मंगलबार नेप्सेमा करिब ३ महिना यताकै उच्च रकमको कारोबार भएको छ । यसअघि १४ फागुनमा २ अर्ब माथिको कारोबार भएको बजारमा त्यसपछि २ अर्ब माथिको कारोबार भएको थिएन ।
प्रतिक्रिया दिनुहोस