सरकारले काठ आयतलाई न्यून गर्न काठमा आत्मनिर्भर बन्न घोषणा, आयात दोब्बरभन्दा बढी

खबर खुराक
१५ जेठ २०८०

५,जेठ।

सरकारले काठ आयतलाई न्यून गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । यस्तो घोषणा गरिए पनि हरेक वर्ष काठको आयात दोब्बरभन्दा बढी हुने गरेको छ । कुनै बेला ‘नेपालको धन, हरियो वन’ भन्ने गरिए पनि केही वर्ष यता काठमा पर निर्भरता ह्वात्तै बढेको देखिन्छ ।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक तथा वन व्यवस्थापन विभागका महानिर्देशक रविन्द्र महर्जनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा विभिन्न देशबाट ७ लाख ८ हजार २ सय ९३ क्युफिट काठ आयात गरिएको थियो । चालु आव २०७९/८० को वैशाख महिनासम्म १४ लाख ६ हजार १ सय ७७ क्युफिट काठ आयात गरिएको जानकारी महर्जनले दिए । यस हिसाबबाट एक वर्षमै नेपालले काठ आयत दोब्बरभन्दा बढी गरेको देखिन्छ । वन पैदावर उद्योग व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष मञ्जिल बाबु मास्केका अनुसार काठ आयात गर्दा अन्तर्राष्ट्रिय बजार मूल्यमा एक क्युफिट बराबर करिब ४ हजार रूपैयाँ खर्च हुने गर्छ । नेपालमा एक क्युफिट काठको बजार मूल्य ४ हजार ७ सयदेखि ४ हजार ८ सयसम्म पर्ने गरेको छ । यसबाट काठ आयातमा मात्रै चालु आवको वैशाख महिनासम्म झण्डै ६ अर्ब खर्च भएको देखिन्छ ।