मेलम्ची खानेपानी पुनः वितरण हुँदै

खबर खुराक
१६ जेठ २०८०

१६ जेठ, काठमाडौं । जेठ ५ गतेदेखि बन्द गरिएको मेलम्ची खानेपानी सोमबार बेलुकी देखि काठमाडौं उपत्यका तर्फ छाडिएको छ । सुरुङमा पथान्तरण गरिएको पानी बिहीबार देखि वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिनुभयो ।

सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाको निर्माण गर्न बन्द गरिएको मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको राईले बताउनुभयो । हेडवर्क्सको अल्प तथा मध्यकालिक पानी पथान्तरणका कार्यहरू नदी फर्काएरै गर्नुपरेकाले मेलम्ची खानेपानी विकास समितिले १० दिन अघि सूचना जारी गरेर मेलम्चीको सुरुङ बन्द गरेको थियो ।

हेडवर्क्समा नयाँ संरचना निर्माण भएपछि सामान्य बाढीमा पहिले जस्तो सुरुङ बन्द गर्नु नपर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।