सनराइज बैंकमा मेसिनबाटै ग्राहकले सोझै नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने

खबर खुराक
१ असार २०८०

१,असार ।

अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरूको उद्घाटन गरेका हुन् ।

बैंकले नवीनतम सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् । त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मासमेत हुन्छ ।

यसै गरी KIOSK मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै ग्राहकहरूले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै KIOSK मसिनबाट प्राप्तगर्न सक्नेछन् । बैंकले क्यास डिपोजिट मेसिन सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र क्यास डिपोजिट  सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ । यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बैंकको  छ