गण्डकी प्रदेशका किसानले कृषि बाली बीमामा शतप्रतिशत अनुदान पाउने

खबर खुराक
२ असार २०८०

२, असार ।

गण्डकी प्रदेशका किसानले कृषि बाली बीमामा शतप्रतिशत अनुदान पाउने भएका छन् । हाल संघीय सरकारले कृषि बीमाको प्रिमियममा दिंदै आएको ८० प्रतिशत अनुदानमा थप सहुलियत प्रदान गरी निःशुल्क बाली बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गण्डकी सरकारले गरेको हो ।

शुक्रबार प्रदेशको आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । ‘कृषि पेशालाई प्रोत्साहन गर्न तथा कृषि उत्पादनको प्रतिफल सुनिश्चितता गर्न कृषि बाली बीमा कार्यक्रम प्रभावकारी बनाउन नेपाल सरकारले उपलब्ध गराएको सहुलियतमा थप सहुलियत प्रदान गरी निःशुल्क बाली बीमा कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने ।