राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउँदै

खबर खुराक
४ असार २०८०

४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले यहि असार ५ गते मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ ’ङ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । उक्त विकास ऋणपत्रको बोलकबोल असार ५ र निष्कासन असार ६ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

यो विकास ऋणपत्र ६ वर्षे अवधिको हुनेछ । असार ६ गते निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८६ असार ६ गते हुनेछ । केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रको व्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुकले असार ५ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ८ अर्ब ५ करोड (८५ प्रतिशत) र १ अर्ब ५ करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने बैंकले जनाएको छ ।

खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ ।

निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।