तिलोत्तमाले मेड इन तिलोत्तमा घरको स्थापना गरी उत्पादनलाई प्रोत्साहन गर्ने

खबर खुराक
१० असार २०८०

१०, असार ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित गरेको छ । दोस्रो नगर सभाको तेस्रो अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र पूर्वाधारलाई प्राथमिकता दिएको बजेट सार्वजनिक गरेका छन् ।

तिलोत्तमाले आलु र प्याजमा आत्मनिर्भर हुने, प्रमुख बालीमा देखापर्ने रोगको शीघ्र निदानको लागि बिशेषज्ञ सहितको बाली उपचार शिविर सञ्चालन गर्ने र बाली बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नगरपालिकाले भूमि बैंक बनाई सार्वजनिक तथा नदी उकास जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह आदिलाई तुलनात्मक लाभ बढी हुने फलफूल तरकारी खेती गर्न प्रोत्साहन गर्ने बताएको छ ।

सामूहिक खेती अपनाउने समूहलाई जोताइमा ५० प्रतिशत अनुदान दिने, पशुहरुमा देखिएको लम्की स्किन रोगविरुद्ध ७ हजार खोप लगाउने, विशेषज्ञ पशु चिकित्सक सहितको भेट एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक महिला विद्यालय सञ्चालनमा ल्याउने, विद्यालयमा सिर्जनशील शुक्रबार कार्यक्रम सञ्चालन गरिने तिलोत्तमाको घोषणा छ ।

– Advertisement –
Ad image

 

तिलोत्तमा–१० को सेमरा स्वास्थ्य केन्द्रलाई मातृ शिशु अस्पतालमा स्तरोन्नति गर्ने, खाना फ्याक्न नपाइने नीति लागु गर्ने, मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, विभिन्न सुपर मार्केटसंग सम्झौता गरी तिलोत्तमाको उत्पादन बिक्री गर्ने पनि घोषणा गरिएको छ ।