नेप्से ७ महिना यताकै उच्च विन्दुमा, एकैदिन ५७ अंकले बढ्यो

खबर खुराक
१२ असार २०८०

१२ असार, काठमाडौं । पछिल्ला कारोबार दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ । गएको बिहीबारदेखि लगातार उकालो लागेको परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ५६.९४ अंक बढेर बन्द भएको छ ।

सोमबार (हिजो) नेप्से साढे ११ अंकले वृद्धि भएर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार ६२.२१ अंकले बढेर बन्द भएको थियो ।

मंगलबार नेप्से परिसूचक २.६७ प्रतिशतले वृद्धि भएर २१८६.३६ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि वृद्धि भएको छ ।

यस दिन पाँच अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २७७ धितोपत्रको एक करोड ३१ लाख सात हजार ८० कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक घटेको हो ।

लघुवित्त समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ८.९६ प्रतिशतले वृद्धि भएको छ ।

यस दिन २५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बढेको बजारमा सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।

लगातार सर्वाधिक रकमको कारोबार हुँदै आएको शिवम् सिमेन्ट यस दिन सर्वाधिक कारोबार गर्ने दोस्रोमा परेको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको २५ करोड १२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्टको २२ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।