बजेटको स्रोत कम हुँदा सबै पक्षलाई समेट्न सकिएन : अर्थमन्त्री महत

खबर खुराक
१५ असार २०८०

१५ असार, काठमाडौं । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री महतले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरूलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गर्नुभयो ।

‘‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ । अनेकौँ खाले अन्योलयताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो । तर मैले दृढ निश्चय गरेर बजेट ल्याएँ । जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्नसक्छ, त्यसलाई मध्यनजर राखेर कसैको मुख नहेरीकन कसैलाई फाइदा पुग्ने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने, अर्थतन्त्र चलायमान हुने, राजस्वलाई वैज्ञानिक ढङ्गबाट करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउन बजेट ल्याएको छु ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘मैले कसैलाई फाइदा पुग्ने नपुग्ने गरी होइन, आम नागरिकको आकंक्षाअनुसार ल्याएको छु, सुशासन, पारदर्शीतालाई मध्यनजरमा राखी लोभ मोह नराखी अघि बढाएको छ ।’’

अर्थमन्त्री महतले कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी बजेट विनियोजन नगरेको भन्दै निष्पक्ष रूपमा बजेट जनताका माग पूरा गर्नका लागि ल्याएको दाबी गर्नुभयो । उहाँले कसौँडीमा पाक्नसक्ने चामलले जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एउटा कसौँडीमा पाक्नसक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? अब हाम्रो आम्दानी भनेको कसौँडीमा पकाउने चामल छ, सबैको चाहना पूरा गर्न ठुलो खड्करोमा पकाउँदा पनि पुग्दैन । त्यो अवस्थामा के हुन्छ, सबैको भावनाको सम्बोधन गर्न सकिँदैन । आगामी दिनमा जनताका धेरै काम पूरा गर्न सक्षम हुनेछ ।’’

मन्त्री महतले नयाँ पार्टीहरूले आकाशको तारा झार्छु भन्दा पनि नागरिकहरू मान्न तयार रहने स्थिति देखिएको बताउनुभयो ।