युवा कर्जा प्रवाहको प्रभावकारी कार्यान्वयन नहुँदा युवा उद्यमशीलता बन्न नसकेको भन्दै कर्जा प्रवाहलाई सरलीकृत

खबर खुराक
१८ जेठ २०८०

१८,जेठ ।

युवालाई स्वरोजगार बनाउनका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा प्रवाहलाई सरलीकृत बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको ‘युवा उद्यमशीलता विकासका लागि सहुलियतपूर्ण कर्जा प्रभावकारी कार्यन्वयन’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहुलियतपूर्ण कर्जा स्वरोजगार हुन चाहने युवाले कानूनी प्रक्रियाका कारण न्यून सङ्ख्याले मात्र पाएको भन्दै सरलीकृत बनाइने सरोकारवालाले बताएका छन् ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सहुलियत पूर्ण कर्जा प्रवाहमा समस्या देखिएकाले बैंकले सरल तरिकाले युवालाई कर्जा प्रवाह गर्नुपर्ने बताए। उनले कर्जा प्रवाहको प्रभावकारी कार्यान्वयन नहुँदा युवा उद्यमशीलता बन्न नसकेको भन्दै कानूनमा समस्या देखिए त्यसलाई सुधार गर्दै लैजानु पर्ने बताए।

सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले ०७५ कात्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि ०७५ ल्याएको छ । “कार्यविधि अनुसार प्रक्रिया पुर्याएर उद्यम गर्न चाहने युवालाई कर्जा प्रवाह गर्नुपर्दछ”, उनले भने “कर्जा प्रवाह गर्न केही कानूनी समस्या छन् भने त्यसलाई संशोधन गर्नुपर्दछ ।”

उनले परिषद्ले सहुलियपूर्ण कर्जा लिन चाहने युवालाई सहजीकरण गर्दै आइरहेको भन्दै अब त्यस्ता युवालाई लक्षित गरी गुनासो सुन्ने कक्षसमेत स्थापना गरिने बताए। परिषद्का उपाध्यक्ष ढुङ्गेलले कर्जा प्रवाह गर्नका लागि मध्यस्तता गर्न वा अन्य नीतिगत कानूनी वा व्यवहारिक समस्याको समाधान गरी थप समन्वय र सहजीकरण गर्न परिषद् तयार रहेको बताए । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली युवा र राज्यले अपेक्षा गरे बमोजिमको कर्जा प्रवाह गर्न नसकिएको भन्दै आगामी दिनमा कर्जा प्रवाहको प्रक्रियालाई थप सरलीकरण बनाउने बताए।

उनले कर्जा प्रवाहमा, नीतिगत कानूनी जनशक्ति र मानवीय स्वभावसमेत जिम्मेवार रहेको उल्लेख गरे । उनले आफ्नो बैंकको कूल कर्जाको न्यूनतम एक प्रतिशत कर्जा प्रवाह गर्ने नीति लिइएको भन्दै आफ्ना देशभरका सबै शाखालाई कर्जा दिन अनिवार्य गर्न थप उत्प्रेरित गरिने धारणा राखे । कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सेवाग्राहीको गुनासो सुनुवाइ र समाधान गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्ने र सहजीकरण गरिने बताए। उनले कुनै कर्जा प्रवाह हुन नसकेको अवस्थामा आफ्ना बैंकका शाखालाई लिखितरुपमा नै जानकारी दिन लगाउने जानकारी गराए।

उनले आफ्नो बैंकले कृषिलाई प्राथमिकतामा राखेको हुनाले युवालाई कृषि व्यवसायतिर आकर्षित गराउने बताए। परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले कर्जा प्रवाहमा समस्या देखिएको बताए। उनका अनुसार अहिलेसम्म उक्त कार्यविधि अनुसार २८ हजार ६८७ जनाले कर्जा लिएका छन् । उनीहरुलाई बैंकले रु छ अर्ब एक करोड २९ लाख ७१ हजार कर्जा प्रवाह गरिसकेका छन् ।

कूल कर्जामध्ये रु ९४ करोड अनुदान रकम (ब्याज र बीमा) मा रहेको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए। रिटर्नि माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधि अनुसार कर्जा नपाइएको बताए । उनले झण्झटिलो प्रक्रियाका कारण विदेशबाट फर्किएका युवाले अझै कर्जा नपाएको बताए । रासस