सहकारीबाट ठगिएका  पीडितहरु विरोध प्रदर्शनमा

खबर खुराक
२० जेठ २०८०

२०, जेठ ।

सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।सहकारीबाट ठगिएका  पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरुले फिर्ता नगरेको सर्वसाधारणको वचत रकम फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि सुनुवाइ नभएको बताए ।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको वचत फिर्ताको लागि राज्यका सबै निकाय धाउँदा कतै पनि सुनुवाइ नभएपछि संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताइन् । उनले सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुलाई आफैंले नीति नियम बनाउन बन्द गर्नुपर्ने माग गरिन् । सहकारीमा वचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनको भनाइ छ ।