खडेरीले सुकेको मकैको बोट

खबर खुराक
२५ जेठ २०८०

२५ जेठ, काठमाडौं । वर्षायामको समय भए पनि लामो खडेरीले गर्दा मकैको बोट सुक्न थालेपछि तनहुँका कृषकहरू चिन्तित बनेका छन् । खडेरीले जिल्लाको १० वटै पालिकामा गरी १४ हजार हेक्टर मकैबालीमा असर गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

केन्द्र प्रमुख तिवारीले भन्नुभयो, ‘‘लामो समयसम्म पानी नपर्दा मकै सुकेर नष्ट हुँदै साना बोटमा कम असर परेपनि ठुलो बोटमा भने उत्पादनमा ६० प्रतिशत घट्ने देखिएको छ ।’’

मकै खेती अधिकांशले विशेषगरी सिँचाइ सुविधा नभएको आकाशे पानीको भरमा गरिने भएकाले धेरै कृषक मर्कामा परेको प्रमुख तिवारीको भनाइ छ । किसानले लगाएको मकै बाली मात्र नभई व्यवसायीक रूपमा लगाइएको तरकारी खेतीमा समेत खडेरीको प्रभाव पारेको छ ।

भानु नगरपालिका–२ खहरे निवासी लक्ष्मी त्रिपाठीले खडेरीले मकैको बोट सुक्न थालेको जानकारी दिनुभयो । त्रिपाठीले भन्नुभयो, “प्रायः जसो आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका यहाँका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकैको बोट, घिरौँला, चिचिण्डा, कर्कका, करेला, लौकालगायतका तरकारी समेत सुकेर काम नलाग्ने भएको छ ।’’

फलफूल, तरकारी तथा अन्न बालीमा नोक्सान पुगेको र राहत दिनु पर्ने माग स्थानीयले राखेको त्रिपाठी बताउनुहुन्छ ।

यसैगरी, व्यास नगरपालिका–११ पोल्याङ निवासी हरिप्रसाद थापाले खडेरीले खेती नष्ट भएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भएको बताउनुभयो । थापाले भन्नुभयो, ‘‘खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट भएपछि आफूहरूलाई भोकमरी निम्तिने अवस्था आउँछ कि भन्ने चिन्ता भएको सरकारले राहतको व्यवस्था गर्नुपर्दछ ।’’