नेप्से परिसूचकमा २१.३२ अङ्कको गिरावट

खबर खुराक
१८ असार २०८०

१८ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अङ्क घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अङ्कले गिरावट आएको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अङ्क घटेर २०७५.९७ बिन्दुमा झरेको छ । पछिल्लो एक सात उच्च अङ्कले वृद्धि भएर २१ सय बिन्दुमाथि पुगेको नेप्से पुनः दुई हजारमा बिन्दुमा झेरको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.१७ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अङ्कले घटेको छ । आज कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड १० लाख ७८ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोकार रकम पनि गिरावट आएको छ । आइतबार पाँच अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

सोमबार नेप्से २१.३२ अङ्कले गिरावट आए पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.१३ प्रतिशत घटेको छ । सोमबारको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।