३९ अंकले घट्यो नेप्से, तीन अर्बको कारोबार

खबर खुराक
२० असार २०८०

२० असार,काठमाडौं । मंगलबार १२.७३ अंकले बढेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन बुधबार ३९.२६ अंकले घटेको छ ।

गएका दिनमा बुधबार, आइतबार र सोमबार लगातार घटेको बजार मंगलबार १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा बन्द भएको थियो ।

तर, बुधबार परिसूचक १.८८ प्रतिशत घटेर २०४९.४४ विन्दुमा बन्द भएको हो । लगातार घटेपछि एक दिन उकालो लागेको नेप्से भोलिपल्ट नै उच्च अंकले घटेको हो । यसदिन तीन अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार दुई अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २७७ धितोपत्रको ८० लाख ९२ हजार ९६९ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बिमा समूह रहेको छ । यो समूहको परिसूचक ३.३१ प्रतिशतले घटेको छ ।

सिटी होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । मंगलबार पनि यो होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले नै वृद्धि भएको थियो । यो होटेलको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ ६० पैसा कायम भएको छ ।  बीपीडब्लू लघुवित्त र मोदी इनर्जीको सेयर मूल्य आज १० प्रतिशतले घटेको छ ।

यस दिन शिवम् सिमेन्टको सर्वाधिक रूपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको १६ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।