नेपालले एक वर्षमा गर्यो झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात

खबर खुराक
९ साउन २०८०

९ साउन, काठमाडौं । नेपालले एक वर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ४० करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्‍कअनुसार यो गत वर्षको तुलनामा २ अर्ब ५६ करोड रुपैयाँले बढी हो ।

चालु आवमा नेपालले १७ लाख ८६ हजार ११२ किलो छुर्पी नेपालबाट निर्यात गरेको छ । जसको कुल बिक्री मूल्य ३ खर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष १७ लाख ४४ हजार ४५१ किलो छुर्पी निर्यात भएको थियो । जसको कुल निर्यात मूल्य २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ मात्रै थियो ।

विश्वका २६ मुलुकमा निर्यात 

भन्सार विभागकाअनुसार नेपालबाट २६ वटा मुलुकमा छुर्पी निर्यात हुन्छ । नेपालको सबैभन्दा ठूलो छुर्पीको निर्यात भने अमेरिकामा हुन्छ । विभागकाअनुसार अमेरिकामा १५ लाख २६ हजार ४४३ किलो छुर्पी निर्यात भएको छ जसको कुल रकम २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ भन्दा धेरै छ ।

यस्तै क्यानडा नोपली छुर्पीको दोस्रो ठूलो बजार बनेको छ । नेपालले क्यानडामा २९ करोड ४२ लाख ३५ हजार मूल्यको १ लाख ४४ हजार५३२ किलो छुर्पी निर्यात भएको छ ।

यस्तै जापान, हङकङ, बेलायत, कोरिया, सिङ्‍गापुर, चीन, लगायतका मुलुकमा पनि नेपालले छुर्पी निर्यात गरेको छ । ती मुलुकमा कुकुरको आहाराको रुपमा छुर्पी जाने गरेको व्यवसायीहरुले बताएका छन् ।