राजस्व नबुझाउने तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का

खबर खुराक
११ साउन २०८०

११ साउन, तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले तोकिएको राजस्व नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।

लिखित तथा मौखिकरुपमा पटक-पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए।

यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका छ वटा  व्यावसायिक फर्म रहेको उनले बताए। कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ।

कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताए ।