सिटिजन्स बैंकको नाफा १०.४१ प्रतिशतले वृद्धि

खबर खुराक
१२ साउन २०८०

१२ साउन,काठमाडौँ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक वर्षको तुलनामा उक्त बैंकको नाफामा १०.४१ प्रतिशतले वृद्धि भएको छ ।

गएको एक वर्षमा बैंकले थप २० करोड ८८ लाख १५ हजार रुपैयाँ नाफा वृद्धि गरेको हो ।   यस्तै गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी १७.३० प्रतिशतले र सञ्चालन नाफा १३.४२ प्रतिशतले वृद्धि गर्दै क्रमशः ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ र ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ कमाएको छ । जसका कारण बैंकको खुद नाफा पनि बढेको हो ।

तथापि, गत आर्थिक वर्षमा बैंकको खराब कर्जा (एनपीएल) दर बढेको छ । अघिल्लो आर्थिक वर्षमा औषत २.२२ प्रतिशत रहेको बैंकको खराब कर्जाको दर २०८० असार मसान्तसम्ममा बढेर ३.१९ प्रतिशत पुगेको छ । यसले बैंकको लगानी र नाफा दुबैमा जोखिम पुर्याएको छ ।

समीक्षा वर्षमा सिटिजन्स बैंकको वितरण योग्य नाफा ९८ करोड ६० लाख ७३ हजार रुपैयाँ रहेको छ भने बैंकको रिजर्भ कोष २४.५१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ४७ लाख नाघेको छ ।   बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसाले बढेर १५ रुपैयाँ ५९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ ।