सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

खबर खुराक
१५ साउन २०८०

१५ साउन, काठमाडौं । साउन १ गतेदेखि निष्कासनमा आएको सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १३९ रूपैयाँ थप गरी प्रतिकित्ता २३९ रूपैयाँ ९६ पैसामा आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रूपैयाँको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न बोर्डको अनुमति पाएको हो ।

कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै  मेरो शेयर सफ्वेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा यस कम्पनीले २०७४ साल असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै रहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।