माण्डु हाइड्रोपावर लिमिटेडको बिहीबारदेखि आईपीओ बिक्री खुला

खबर खुराक
२८ असार २०८०

२८ असार, काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम भाउमा आईपीओ निष्कासन गरेको हो ।  यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि जारी गरेको छ । यसले १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आईपीओ बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाकोे भिमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।  त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन हुनेछ। दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।