आमाको दूध शिशुको पहिलो खोप
बिगौते दूध एकदमै पोषिलो तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ का रूपमा पनि लिइन्छ । शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेंलो बिगौते दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व हुन्छ जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोप भनिएको हो ।
त्यसकारण शिशु जन्मिएको एक घन्टाभित्रमा बच्चालाई आमाको बिगौते दूध अनिवार्य रूपमा खुवाउनुपर्छ । विज्ञका अनुसार आमाको बिगौते दूधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगहरूको जोखिमबाट टाढा राख्दछ र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्दछ ।
शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्दछ । बच्चा जन्मेको ६ महिना पूरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्दछ ।
स्तनपानले शिशुसँगै आमालाई पनि फाइदा गर्छ । लामो अवधि स्तनपान गराउने आमामा स्तन र डिम्बाशयको क्यान्सर र मधुमेहको जोखिम कम हुन्छ ।
यसका साथै बट्टाको दूध सेवन गर्ने शिशुहरू भन्दा स्तनपान गर्ने शिशुहरूको बौद्धिक शक्तिको विकास राम्रो भएको पाइन्छ । ६ महिनासम्म आमाको दूध मात्र खुवाउँदा बाल मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउन सकिने विभिन्न अध्ययनले देखाएका छन् ।
‘आमाको दूधमा पाइने रोगसँग लड्ने प्रतिरोधात्मक तत्व बट्टाको दूधमा नपाइने भएकाले बट्टाको दूध सेवन गर्ने शिशुहरूमा रोगसँग लड्ने क्षमताको कमी हुने, भविष्यमा कुपोषित मात्रै नभएर मोटोपना, मधुमेह लगायत रोगहरू पनि लाग्न सक्छन्’ थापा भन्छन्, ‘बच्चाका लागि पहिलो खोप नै आमाको दूध हो । आमाको दूधले रोगसँग लड्ने क्षमता विकास गर्नुका साथै नवजात शिशुको मृत्युदर पनि कम बनाउँछ ।’
आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको र बिगौती दूध उत्पादनमा सहयोग पुग्ने वरिष्ठ पोषणविद् डा.मनषा थापा ठकुराठी बताउँछिन् ।
६ महिनासम्म बच्चाको प्राचनप्रणाली धेरै कमजोर हुने भएकाले आमाको दूध बाहेक अन्य वस्तु पच्दैन ।
‘स्तनपानमा पचाउन सक्ने हिसाबले चाहिने पोषकतत्व प्राप्त हुने हुँदा पूर्णरूपमा ६ महिनासम्म स्तनपान गराउँदा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । अन्य वस्तु खुवाएको खण्डमा बच्चाले पचाउन सक्दैन, खाए पनि पोषकतत्वहरू शरीरले लिन सक्दैन’ पोषणविद् ठकुराठी भन्छिन्, ‘जुन बच्चाले स्तनपान गरेका हुँदैनन्, त्यस्ता बच्चालाई संक्रामक रोग लाग्ने बढी सम्भावना हुन्छ ।’
त्यसैगरी, आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो । बट्टाको दूध सेवन गर्ने शिशुहरू भन्दा स्तनपान गर्ने शिशुहरूको बौद्धिक शक्तिको विकास राम्रो हुने बालरोग विशेषज्ञ डा.कृष्ण पौडेल बताउँछन् ।
‘बच्चा दुई वर्षको हुँदा ८० प्रतिशतसम्म दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सकियो, त्यति नै मानसिक विकास हुने हुन्छ । राम्रोसँग स्तनपान नगराएको बच्चालाई निमोनिया, झाडापखाला, कुपोषण लगायतका समस्या निम्तिने हुन्छ’, डा.पौडेल भन्छन् ।
‘६ महिनासम्म बच्चाको आवश्यकता अनुसार लगातार दूध खुवाउँदा आमा र बच्चा दुवैलाई फाइदा गर्छ । नियमित रूपमा स्तनपानले आमा र बच्चाको भावनात्मक सम्बन्ध मात्रै जोडिंदैन, महिलाको पाठेघरको क्यान्सर नहुनेदेखि धेरै स्वास्थ्य समस्याको हल हुन्छ’, ठकुराठी थप्छिन् ।
आमाको दूध अमूल्य उपहार
पूर्ण रूपमा आमाको दूध खुवाउँदा बालबालिकालाई श्वासप्रश्वास सम्बन्धी रोग करिब १० देखि १५ गुणा कम र झाडापखाला पाँच गुणा कम हुने वरिष्ठ बाल रोग विशेषज्ञ डा. गणेश राई बताउँछन् ।
अध्ययनले आमाको नियमित स्तनपान गर्ने शिशुमा सुगरको जोखिम ४० प्रतिशत कम हुने, कानमा हुने संक्रमण ५० प्रतिशत कम हुने, छातीको संक्रमण र चिसो लाग्ने समस्या कम गराउनेदेखि ब्लड क्यान्सरको जोखिम समेत न्यून हुने देखाएको छ ।
त्यस्तै, दुईदेखि चार महिनाको शिशु वा एक वर्षभन्दा कम उमेरका शिशुमा देखिने आकस्मिक नवजात मृत्यु सिन्ड्रोम ३५ प्रतिशत कम हुन्छ ।
‘आमाको दूधमा पोषकतत्व बाहेक कार्बोहाइड्रेड, प्रोटिन र फ्याट ठिक्क मात्रामा हुन्छ । त्यो बाहेक शिशुलाई चाहिने क्याल्सियम, आइरन, भिटाभिन र अन्य तत्व पाइन्छ । बालबालिकाको वृद्धि-विकासका लागि यो अति नै आवश्यक हुन्छ’, डा. राई थप्छन् ।
डा. राईका अनुसार स्तनपान गराउनाले आमा र बच्चाबीचको माया पनि बढ्छ । उनीहरूको सम्बन्ध पछिसम्म पनि सुमधुर हुन्छ ।
‘रक्तस्रावबाट सुत्केरीको मृत्युु एउटा मुख्य कारण मानिन्छ । स्तनपानले रक्तस्राव कम गर्छ । बच्चा जन्मेलगत्तै स्तनपान गराउँदा पाठेघर खुम्चिने र रक्तस्राव कम हुन्छ’ डा. राई भन्छन्, ‘बच्चालाई दूध खुवाउञ्जेल धेरैको महिनावारी बन्द हुन्छ । र, यसले परिवार नियोजनको काम पनि गर्छ ।’
स्तनपान बढाउनका लागि के गर्दै सरकार ?
स्तनपानसम्बन्धी रणनीति र नीति बने पनि उपलब्धिमूलक सफलता हासिल हुनसकेको छैन । पोषण शाखाका प्रमुख थापाका अनुसार, आमाको दूधको विकल्पमा बजारमा पाइने बट्टाको दूधलाई न्यूनीकरण गर्दा स्तनपानको संख्या बढ्छ । तर, व्यवहारमा भने लागू गर्न सकिएको छैन । सरकारले स्तनपानको बारेमा स्थानीय तहसम्म चेतना अभिवृद्धिको काम गरिरहेको उनी बताउँछन् ।
त्यसैगरी, सार्वजनिक ठाउँमा छुट्टै स्तनपान कक्ष निर्माण गर्ने काम भइरहेको थापाले बताए । केन्द्रदेखि स्थानीय तहका अस्पतालसम्म रहेका स्वास्थ्यकर्मीलाई आमाको दूधलाई प्रवर्द्धन गर्न अभिमुखीकरण तालिम पनि दिइरहेको उनले बताए ।
त्यस्तै, सरकारले स्तनपान बढाउनका लागि सुत्केरी महिलालाई ६ महिना बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस