प्रिमियम मूल्यमा रिलायबल नेपाल लाइफको आईपीओ निष्कासन

खबर खुराक
२३ साउन २०८०

२३ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (साउन २३ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको छ ।

यो आईपीओ खरिदका लागि यही साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा आउँदो भदौ ५ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम पाँच हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीले कर्मचारीमा भने ६ लाख कित्ता आईपीओ प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमै बिक्री गरिने जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको थियो । ६ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । बाँकी ९६ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । मेरोसेयर वेबसाइटमार्फत समेत आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्न गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ । यस्तो कम्पनीले क्रेडिट जोखिम वहन गर्न सक्ने जनाइएको छ ।

आर्थिक वर्ष २०७८÷७९ सम्मको वास्तविक विवरणानुसार कम्पनी ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ । गएको आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणानुसार कम्पनीले एक अर्ब रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।