सन नेपाल लाइफले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै

खबर खुराक
२४ साउन २०८०

२४ साउन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) साउन ३२ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन खुला गर्नेछ ।

सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कसान गर्ने जानकारी दिएको छ ।

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारीपुँजी तीन अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सोमध्ये नौ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । सोपश्चात बाँकी भएको सेयरमा चार लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । चार लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

वास्तविक वित्तीय विवरण २०७८/०७९ अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४१ पैसा रहेको छ । उक्त अवधिसम्म कम्पनी ३९ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको छ । कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त रकम नेपाल बिमा प्राधिकरणले तोकेको प्राथमिक क्षेत्र, नेपाल सरकारको ऋणपत्र, विकास ऋणपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप तथा ब्याज प्राप्त हुने क्षेत्रमा लगानी गर्ने बताइएको छ ।