कृषकका लागी आम्दानीको स्रोत बन्दै ‘अकबरे खुर्सानी ‘

खबर खुराक
१ भदौ २०८०

१ साउन, इलाम । यस पटक अकबरेको फल नै बिक्री गर्नेकि बियाँ बिक्री गर्ने, सूर्योदय नगरपालिका –१२ का किसान मदन राई दोधारमा हुनुहुन्छ । राईले उत्पादन गरेको अकबरे फल र र बियाँ दुवैको माग उत्तिकै छ ।

गतवर्ष ४३ किलो अकबरेको बियाँ बीउका लागि तयार गरी बिक्री गर्नुभएका राईसँग यो वर्ष ८० किलो बियाँ बीउको माग आएको छ । ‘मागअनुसारको बीउ तयार गर्न त सम्भव नै छैन’ राईले भन्नुभयो, “अहिले फल अर्थात् दानाको माग पनि उत्तिकै छ । अब दाना बिक्री गर्ने कि बीउ भन्ने दोधारमा छु ।”

राईले गतवर्ष ४३ किलो बीउ उत्पादन तथा बिक्री गर्नुभएको थियो । ‘७२ किलो बीउको माग आएको थियो । विदेशबाट पनि चार किलो माग आएको थियो । तर मागअनुसार उत्पादन गर्न मुस्किल छ’ राईले भन्नुभयो, ‘पूर्ण अर्गानिक उत्पादन हुनेगरेकाले होला, यहाँको अकबरे धेरैले रुचाउने गरेका छन् ।’

दश हजारभन्दा बढी वबिवा टनेलमा खेती गर्नुभएका राईले यो वर्ष करिब ७० क्विन्टल अकबरे उत्पादन हुने अपेक्षा रहेको बताउनुभयो । यो वर्ष कम्तीमा पनि १०–१२ लाख रुपियाँ आम्दानी हुने अनुमान उहाँको छ ।

‘अहिले नै अकबरे दाना प्रतिकिलो ३५० रुपियाँमा बिक्री हुन्छ, कात्तिक–मङ्सिरतिर प्रतिकिलो पाँचसय रुपियाँ पुग्छ । यस वर्ष इलामको कुनै किसानलाई पनि अकबरेले घाटा लगाउँदैन’ उहाँले भन्नुभयो, ‘अबको साता दिनपछि अकबरे टिप्ने काम सुरु हुन्छ ।’

राईले गतवर्ष अकबरेको बियाँ २० हजार रुपियाँ प्रतिकिलोदेखि ४५ हजार रुपियाँ प्रतिकिलोका दरले बिक्री गरेको उहाँले बताउनुभयो । ‘ए, बी, सी गरेर तीन ग्रेडका बीउ तयार गरिएको उहाँको भनाइ छ । ‘ए’ ग्रेडमा नस्ल सुधार गरेर टनेलभित्रै तयार गरिएको बीउ दुई किलोमात्र थियो, यो ४५ हजार रुपियाँ किलोले बिक्री भयो । यो बीउ नेपाल सरकारले नै माग गरेर उत्पादन गर्न लगाएको थियो ।’

राईले भन्नुभयो, ‘बी र सी ग्रेडको पनि नराम्रो होइन तर ए ग्रेड बनाउने जस्तो झन्झटिलो चाँहि होइन । बी र सी गे्रड ३० हजार रुपियाँ र २० हजार रुपियाँ प्रतिकिलोका दरले बिक्री भयो ।’

दाना बिक्री जति सजिलो बीउ उत्पादन गर्न भने नहुने उहाँको भनाइ छ । बियाँ निकाल्न हातकै प्रयोग गर्नुपर्छ । अकबरेको बियाँ निकाल्न धेरै गाह्रो हुने उहाँले बताउनुभयो । वर्षौंदेखि अकबरे खेती गर्दै आउनुभएका राईले आफ्नो खेतीमा विशेषगरी गाईको गोबर मल, गहुँत निमको पिना, हड्डीको धुलो, आफैंले उत्पादन गरेको गँड्यौले मल प्रयोग गरिरहेको बताउनुभयो ।

दहीबाट घिउ निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्नेगरेको राईले बताउनुभयो । ‘यसो गर्दा खोर्सानीलाई विषादी प्रयोग गर्नै पर्दैन, अर्गानिक उत्पादनको मूल्य नै फरक पर्छ ।’

माइजोगमाई गाउँपालिका –५ का किसान महेन्द्र चापागाईंले पनि यो वर्ष अकबरे खेती गर्नुभएको छ । करिब पाँचसय बोटमात्र अकबरे लगाएका चापागाईंले कम्तीमा दश क्विन्टल अकबरे उत्पादन हुने अपेक्षा रहेको बताउनुभयो ।

‘अहिलेसम्मको फलाइ हेर्दा राम्रो छ । कुनै रोग देखिएको छैन । अब केही दिनमा टिप्न तयार हुन्छ’ चापागाईंले भन्नुभयो, ‘मल पानी सबै मिलाउन सक्दा र मौसमले साथ दिंदा थोरै लगानीमा पनि अकबरेबाट आम्दानी राम्रै हुँदोरहेछ, अहिले अकबरेको बजार राम्रो छ ।’

चापागाईंसहित सोही गाउँका मनोज खत्री, बीरबहादुर राईले पनि अकबरेको खेती गरिरहनुभएको छ । अहिलेकै बजारमूल्य प्रतिकिलो ३५० पुग्दा किसानहरु खुशी रहेको उहाँले बताउनुभयो ।

जिल्लाको पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दैआएका छन् । जिल्लाको १ सय ५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदैआएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।