प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत शुल्क

खबर खुराक
३ भदौ २०८०

३ भदौ, भारत । भारतले प्याजको निर्यातमा ४० प्रतिशत शुल्क लगाएको छ ।

आइतबार भारतको अर्थ मन्त्रालयले तत्कालदेखि आउँदो डिसेम्बर ३१ सम्म लागु हुने गरी प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको हो ।

कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ । ‘निर्यात करले भारतीय प्याजलाई पाकिस्तान, चीन र इजिप्टको प्याजको तुलनामा महँगो बनाउनेछ, यसले स्वभाविक रुपमा निर्यात्मा कमी ल्याउनेछ र स्थानीय बजारमा मूल्य घटाउन मद्दत गर्नेछ’ मुम्बईका निर्यात विज्ञ अजित शाहले भनेका छन् ।

विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ । निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ । हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ । नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ । भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ ।