भगवती हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

खबर खुराक
५ भदौ २०८०

५ भदौ, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि उक्त आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि सात लाख १२ हजार २२० कित्ता सेयर प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गरेको हो ।

आवेदन भदौ ८ गतेसम्म दिन सकिनेछ । तर, सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड  छ । लगानीकर्ताले बिक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको ‘मेरो सेयर’ वेबसाइटबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात् आठ करोड ५८ लाख ९७ रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँ १६ रुपैयाँ थप गरी आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सोहीअनुसार कम्पनीले प्रतिशेयर ११६ रुपैयाँ दरका आठ लाख ५८ हजार ९७ कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि पाँच लाख ७२ हजार ६५ कित्ता निष्कासन गरेको थियो ।

८५ हजार ८१० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरेको थियो ।  त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता सेयर कर्मचारीहरूका लागि र ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिसकेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले कास्कीको पोखरामा रहेको विजयपुर खोलाबाट ४.५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार १ रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८–७९ सम्म कम्पनीको वास्तविक प्रतिसेयर आम्दानी १९ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै वास्तविक प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४१ पैसा रहेको छ ।