भारतले निर्यातमा कर लगाएपछि प्याज ल्याउनै छाडे कालिमाटीका व्यापारीले

खबर खुराक
६ भदौ २०८०

६ भदौ, भारत । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने भएपछि मंगलबार कालीमाटी तरकारी बजारमा प्याजको कारोबार भएको छैन। कर लगाएपछि होलसेल व्यापारीले प्याज नल्याउँदा सुकेको प्याजको कारोबार नभएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप–निर्देशक विनय श्रेष्ठले बताए।

‘भारतले प्याजमा कर लगाउने निर्णय गरेदेखि बजारमा प्याज आएको छैन। पुरानो स्टक जति थियो। त्यो हिँजोसम्म बिक्री भइसक्यो। हिजोदेखि बजारमा प्याज भित्रिएको छैन,’ उनले भने। यस्तै बजारमा प्याजको कारोबार नभएका कारण बजारको दैनिक मूल्य सूचीमा प्याजको मूल्य समेत नराखेको जानकारी दिए। ‘अहिले बजारमा प्याजको कारोबारै छैन। कारोबार नभएपछि हामी दैनिक मूल्यसूचीमा राख्दैनौं,’ उनले भने।

भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बरको अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको छ। विश्वमा सर्वाधिक रुपमा प्याज निर्यात गर्दै आएको भारतले प्याज उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि निर्यात कर लगाउने निर्णय लिएको थियो। कर लगाएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ।

भारतले कर लगाउने निर्णय गरेको भोलिपल्टसम्म कालिमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको थियो। सोमबार भने बजारको मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ रहेको थियो। जसअनुसार प्याजको मूल्य कालिमाटीमै प्रतिकिलो २० रुपैयाँसम्म बढेको पाइएको थियो।

मूल्य बढाउने व्यापारीलाई कारबाही
खुद्रा व्यापारीहरुले आफूखुसी मूल्य बढाएका थिए। यसरी आफूखुसी मूल्य बढाउने व्यापारीहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरी कारबाही अघि बढाएको छ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको थियो।

भारतले भन्सार बढाएको बाहनामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत गरेको उनले जानकारी दिए। ‘प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउनेबित्तिकै विभागले तीन वटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ। पाँच व्यापारीलाई जरिवाना गरिएको छ भने चार आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ’ ठाकुरले भने।

तीन व्यापारीलाई २० हजारका दरले र दुई व्यापारीलाई ५० हजारका दरले जरिवाना गरिएको उनले बताए। यसरी कारबाही गरेपछि व्यापारीहरुले पुरानै मूल्य कायम राखेको उनको भनाइ छ। वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमबार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो। उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा पाँच वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृत अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिए। यसअघि सरकारले बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको थियो। त्यसलगत्तै नेपालमा प्याजको मूल्य आकाशिएको थियो। केहि व्यापारीले सरकारले लगाएको मूल्य अभिवृद्धि कर खारेजीको माग गर्दै केहि समय प्याज ल्याएनन्। जसका कारण बजारमा खुद्रा व्यापारीले कालो बजारी गरेका थिए। केही व्यापारीले भने बजारमा प्याज अभाव सिर्जना गरी मूल्य बढाउन प्याज लुकाएको भन्ने आरोप समेत आएका थिए।