नेप्सेमा एकल अंकको सामान्य वृद्धि

खबर खुराक
११ भदौ २०८०

११ भदौ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको छ ।

गत बिहीबार र आइतबार लगातार दुई कारोबार दिन गिरावट भएको नेप्से सोमबार भने सामान्य वृद्धि देखिएको हो ।

हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा अरु सबै उपसूचक बढेको छन् । अन्य उपसूचक ०.२८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.०९ प्रतिशतले गिरावट हो ।

होटल तथा पर्यटन उपसूचक ०.८१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.७० प्रतिशत र व्यापार उपसूचक ०.६५ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक ०.५२ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने गिरावट भएर १ अर्बबाट तल झरेको छ । ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये लक्ष्मी सनराइज बैंकको सर्वाधिक ७ करोड ३२ लाखको कारोबार हुँदा सोल्टी होटलको ४ करोड ९८ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सोमबार कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ११८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ९७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १२ कम्पनीको सेयरमूलय स्थिर छ । सोमबार कारोबार भएकोमध्ये कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । नेप्सेमा सूचीकृत भएदेखि नै कम्पनीका सेयरमूल्य लगातार बढिरहेको छ ।

यस्तै लक्ष्मी र सनराइज बैंक मर्जर भएर बनेको लक्ष्मी सनराइज बैंकको नामबाट सेयर कारोबार सुरु भएसँगै बैंकको सेयरमूल्य ४.७१ प्रतिशत र सीटी होटलको सेयरमूल्य ४.४८ प्रतिशतले वृद्धि भएको छ । यता स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.३८ प्रतिशतले गिरावट हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ३.५५ प्रतिशत र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.४२ प्रतिशतले गिरावट भएको छ ।