आजदेखि कार्यान्वयनमा एमसीसी, अर्थ मन्त्रालयमा गरियो ‘लन्च’

खबर खुराक
१३ भदौ २०८०

१३ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । करिब ७० अर्ब अमेरिकी र नेपाली रकमसहितको यो परियोजना आज कार्यान्वयनमा गएर अब ठीक पाँच वर्षपछि सकिने छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष श्री क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको सम्पस्थितिमा आयोजित एक विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरे । ‘कार्यान्वयनमा प्रवेश’ ले पाँच वर्षको समयसीमाभित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने सुनिश्चितताका लागि पूर्व शर्तहरू तथा तयारी कार्य पूरा भएको जनाउने भएकोले यसलाई एमसीसी कम्प्याक्टका सन्दर्भमा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइएको छ ।

उक्त अवसरमा अर्थमन्त्री डा. महतले भने, ‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित विद्युत् प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भ भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।’

अर्थमन्त्री डा. महतले नेपालको आर्थिक विकासलाई सघाउने एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका आयोजनाहरूले सडक स्तरोन्नति तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत नेपाली जनतालाई लाभान्वित गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा सहभागी हुँदै नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले भने, ‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा बढी समयदेखि बलियो मैत्रीपूर्ण सम्बन्ध छ र हाम्रो मित्रताको एउटा उत्साहवर्द्धक कोशेढुङ्गा एमसीसी नेपाल कम्प्याक्ट हो । यसले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्नेछ र विद्युत् तथा यातायातमा नेपाली जनताको पहुँचमा सुधार गर्नेछ । आज यस महत्वपूर्ण कोशेढुङ्गा घोषणा कार्यक्रममा सहभागी हुन पाउँदा निकै हर्षित छु र नेपालको आर्थिक विकासमा कम्प्याक्टले उल्लेख्य प्रभाव पार्ने अपेक्षा गर्दछु ।’

m1m2