आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित

खबर खुराक
१९ भदौ २०८०

१९ भदौ, काठमाडौँ । नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित भएको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले यसबारे जानकारी दिँदै नेपालको विद्युत् विकासमा नयाँ रोडम्याप तयार हुने बताएका हुन् ।

‘यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । यसमध्ये नेपालले आगामी २५ वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता नै गर्न चाहेको थियो ।