प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति सीलाई हाङजाउ र समकक्षी लि छियाङ्लाई बेइजिङमा भेट्ने

खबर खुराक
२९ भदौ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ जाने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन् ।

“संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हारूजाउ जाने कार्यक्रम तय भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण आफू न्यूयोर्कबाट सिधै चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको उनले बताए ।

“हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । सोही दिन म १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु,” प्रधानमन्त्री प्रचण्डले भने ।

त्यस्तै असोज ८ गते बेइजिङमा समकक्षी लि छियाङ्सँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको उनले जानकारी दिए ।

भ्रमणका बेला उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्नेछन् ।

नेपालको प्रधानमन्त्रीको हैसियतमा आगामी असोजमा हुने प्रचण्डको चीन भ्रमण तेस्रो हो । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास उनले व्यक्त गरे।

“यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भने ।

छोङछिङको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको जानकारी उनले संसदलाई गराएका थिए ।

कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताए । साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी चीनबाट प्राप्त सहयोगबारे छलफल हुने उनको भनाइ छ ।

“भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ,” उनले भने ।