अर्थसचिवको जिम्मेवारीमा कृष्णहरि पुष्कर

खबर खुराक
१ असोज २०८०

काठमाडौँ। मन्त्रिपरिषद् बैठकले अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले चार महिना १० दिनमै अर्थसचिवबाट अर्जुन पोखरेललाई हटाएर पुष्करलाई जिम्मेवारीमा ल्याएको हो।

पोखरेललाई सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ। १० पुसमा एमालेसहितको गठबन्धन सरकार बनेपछि अर्थमन्त्री बनेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थसचिव रहेका पुष्करलाई हटाएर तोयम रायलाई अर्थसचिव बनाएका थिए।

अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा राजश्व दर ‘हेरफेर’ विषयमा विवादित भएपछि २०७९ साउनमा तत्कालीन अर्थसचिव मधु मरासिनीलाई हटाएर शर्माले पुष्करलाई सचिव बनाएका थिए। पुष्कर त्यतिबेला अर्थ मन्त्रालयमै राजश्व सचिव थिए।

वर्तमान गठबन्धन सरकारमा डा. प्रकाशशरण महत अर्थमन्त्री भएपछि राय हटाएर पोखरेललाई गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको थियो।

अर्थसचिवको जिम्मेवारी पाएका पुष्कर हाल बेलायत भ्रमणमा छन्। पुष्करलाई गत भदौको पहिलो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो।

पुस्ष्करलाई सरुवा गरेर संघीय मन्त्रालयको सचिवमा विनोद सिंहलाई पठाइएको थियो।