चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री दाहाल

खबर खुराक
७ असोज २०८०

काठमाडौँ, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि सैन्य रणनीतिक योजनामा संलग्न हुने नेपालको नीति नरहेको स्पष्ट गर्दै चिनियाँ पक्षलाई आश्वस्त पारेका छन् । चीनको हाङचउमा शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले लिँदै आएको एक चीन नीतिमा दृढ रहेको बताए । एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई नेपालले व्यवहारबाट पुष्टि गरिसकेको उनको भनाइ थियो ।

दाहाल र सीबीच १५ मिनेट एक्लाएक्लै र त्यसपछि नेपाल र चिनियाँ उच्च अधिकारीबीच ४५ मिनेट वार्ता भएको थियो । यसअघि दाहाल र सीबीच चार पटक भेटवार्ता भइसकेकाले स्पष्ट कुराकानी भएको बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘प्रधानमन्त्रीज्यूले एक चीन नीतिप्रतिको प्रतिबद्धता नेपालले व्यवहारबाटै पुष्टि गरेको, स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगीकार गरेको तथा यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रस्ट पार्नुभयो,’ आचार्यले टेलिफोनमा भने ।

२०७८ फागुनमा नेपालले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीन सशंकित भएको थियो ।

सुरुमा माओवादीले एमसीसीको विरोध गरे पनि व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णयमा पुगेको थियो । चीनले एमसीसी पारित नगर्न माओवादीलाई अप्रत्यक्ष रूपमा दबाब दिएको थियो ।

प्रेस सल्लाहकार आचार्यका अनुसार वार्तामा दुवै नेता दक्षिण एसियाको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको भन्नेमा सहमत भएका थिए । ‘बीआरआईमा पहिले नै हस्ताक्षर भइसकेकाले यसलाई कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्टसँग चिनियाँ पक्षलाई भन्नुभयो,’ उनले भने, ‘चीनको समृद्धिबाट छिमेकी नेपालले सहयोग लिनुपर्ने कुरा पनि गर्नुभएको छ ।’ चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए । ‘राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिनुभएको छ,’ प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘सीले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदबिना समान सहअस्तित्वसँगै अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्नुभयो । आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने उहाँको विश्वास छ ।’

प्रधानमन्त्री दाहालले चीन र नेपालबीच लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताएका थिए । ‘चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गर्नुभयो,’ आचार्यले जानकारी दिए । राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँग यसअघि भएका भेटको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गरेका थिए ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीन र नेपालले ठूलो र सानो देशबीच समान व्यवहार र विन–विन साझेदारीको एउटा उदाहरण तय गरेको उल्लेख गरेको छ । ‘राष्ट्रिय विकास र समृद्धिको बाटोमा एकअर्काका लागि साझेदार हुने अवसर दुवै देशलाई छ,’ राष्ट्रपति सीले भने, ‘दुवै पक्षले एकअर्काको मुख्य स्वार्थ र चासोका मुद्दालाई बुझ्नु र समर्थन गर्नुपर्छ । राजनीतिक आधारबाट दुईपक्षीय सम्बन्ध बलियो बनाउनुपर्छ ।’

सीले दुई देशले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यमा प्रगति गरेको र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कले आकार लिएको बताए । ‘नेपाल भूपरिवेष्टित मुलुकबाट भूजडित देशमा रूपान्तरण गर्न, पूर्वाधार कनेक्टिभिटीमा प्रवर्द्धित गर्न र पारवहन यातायात सहयोग विस्तार गर्न दुवै पक्षबाट प्रयास गर्नुपर्नेमा सीले जोड दिए । ‘चीन नेपालसँग बहुपक्षीय समन्वयमा सुधार गर्न, दुई देश र अन्य विकासोन्मुख देशहरूको साझा हितको रक्षा गर्न र मान्छेको साझा भविष्य निर्माणलाई प्रवर्द्धन गर्न इच्छुक छ,’ सीको भनाइ थियो ।

दाहालले सीको प्रशंसा गर्दै दूरदर्शी विश्व नेता र नेपालको असल मित्र भएको बताए । ‘नेपाल र चीन एकले अर्कालाई बुझ्न सक्ने मित्र भएकाले एकअर्कालाई समर्थन गर्दै आएका छन् । नेपाल एक चीनप्रति सधैं प्रतिबद्ध छ,’ दाहालको भनाइ थियो, ‘ताइवान र तिब्बत दुवै चीनका अभिन्न अंग हुन् । आफ्नो भूमि चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ ।’

सीसँगको भेटमा दाहालले नेपालले बीआरआईको उच्च प्रशंसा गर्दै यसको सहकार्यमा सक्रिय रूपमा सहभागी हुने भन्दै ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणमा प्रतिबद्धता व्यक्त गरे । उनले हाङचउ एसियाली खेलकुदको भव्य सफलताले एसियाका बासिन्दाबीच समझदारी र मित्रता बढाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको सिन्ह्वाले जनाएको छ । चीनमा आयोजना भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन चीनले दाहाललाई निम्ता दिएको थियो । हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने कार्यक्रमका लागि चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर दाहाललाई निम्तो दिएका थिए । तर, पहिले भारतपछि चीन जाने उद्देश्यले उनले उक्त भ्रमण स्थगित गरेका थिए ।

प्रधानमन्त्री दाहाल हाङचउबाट आइतबार बेइजिङ आउने कार्यक्रम छ । उनले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली छियाङसँग सोमबार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले छियाङसँगको भेटमा व्यापारिक सन्धि पुनरावलोकन, नेपालमा लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत मुद्दामा छलफल हुने बताए । ‘पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिलगायत एजेन्डामा सहमति गर्ने गृहकार्य भइरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच सहयोगबारे सैद्धान्तिक छलफल भएको छ । चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता भएपछि सहमतिका लागि ठोस आकार लिने विश्वास गरिएको छ ।’

दाहालले बेइजिङमा नेसनल पिपुल्स कंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन् । प्रधानमन्त्रीले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी), नेपालको उद्योग वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गर्ने ‘चीन–नेपाल लगानी सम्मेलन’ लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकनका लागि चोङकिङ नगरपालिकाका साथै नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट शनिबार बिहान हाङचउ पुगेका थिए । उनी असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।