एमाले बागमती प्रदेश अधिवेशन- २४५ मध्ये १६२ पदमा निर्विरोध

खबर खुराक
१२ असोज २०८०

काठमाडौं, १२ असोज  । नेकपा एमालेका बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको आजसम्म आइपुग्दा १६२ जना निर्विरोध निर्वाचित भएका हुन् ।

अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी रहेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् ।

दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् । दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् ।