एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्रीको वालुवाटारमा छलफल

खबर खुराक
१४ असोज २०८०

काठमान्डौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । चीन भ्रमणबाट फर्केको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट शनिबार मात्रै स्वदेश फर्किएका थिए । उनी भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए । त्यहीबाट उनी चीन भ्रमणमा गएका थिए ।

प्रतिनिधि सभा बैठक सञ्चालनका विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरण शर्माले जानकारी दिए । उनका अनुसार भेटवार्ता अहिले चलिरहेको छ ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।