वर्षमानले सुनाए एमाले र माओवादी एकता वा सहकार्यको सम्भावना

खबर खुराक
२० असोज २०८०

काठमाडौं, २० असोज । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी र एमालेबीच सहकार्य वा एकताको सम्भावना रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आफ्नो दलको एमालेसँग फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुनसक्ने बताएका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुनले विगतको जरा एउटै भएको र कयौँ राजनीतिक एजेन्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने आधार सुनाएका हुन् । उनले फेरि मिल्नुपर्ने अवस्था आउनसक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे । पून पुष १० गते बनेको एमाले र माओवादी नेतृत्वको गठबन्धनका सूत्रधारसमेत हुन् । अहिलेपनि माओवादीमा पुन भने एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

आज विहानमात्रै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । दाहाल र ओलीबीचको भेटवार्तालगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसमेत सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । पछिल्लो समय नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरु खासगरी शेखर कोइराला समूहले प्रधानमन्त्री दाहालको विकल्प खोज्नुपर्ने बेला भएको भन्दै सार्वजनिक रुपमै सरकारको नेतृत्वको आलोचना गरिरहेको छ । file photo